काठमाण्डौ – फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनका कारण नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले २०२६ को साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ।
बंगलादेशमा नोभेम्बर ५ देखि १७ तारिखसम्म आयोजना हुने १५औँ साफ च्याम्पियनसिपका लागि नेपालको सहभागिता तय हुन नसकेको हो। प्रतियोगिताको तयारी अघि बढिसकेको अवस्थामा नेपाल समूह विभाजनमा समेत समावेश भएको थिएन। साफले २०२६ प्रतियोगिताका लागि मिडिया एक्रिडिटेसन प्रक्रिया समेत अघि बढाइसकेको छ।
राष्ट्रिय खेलकुद परिषद्को हस्तक्षेपलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि निलम्बनको कारबाही गरेको विषय सार्वजनिक भएको छ। निलम्बन हटाउन एन्फाको स्वायत्तता कायम हुनुपर्ने र विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नुपर्ने विषयमा जोड दिइएको छ।
एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको र यसको असर राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको हो।
नेपालले यसअघि साफ च्याम्पियनसिपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। यसपटक भने फिफा निलम्बनका कारण क्षेत्रीय स्तरको यो प्रमुख प्रतियोगितामा नेपाली टोलीको सहभागिता हुन नसक्ने भएको छ।










Discussion about this post