काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको ६ महिना पूरा हुँदै गर्दा कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्र सिंह महताले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसमक्ष १३ वटा महत्वपूर्ण प्रश्न उठाएका छन्।
आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिका सदस्यसमेत रहेका सांसद महताले कृषि उत्पादन वृद्धि, किसानको आम्दानी, मल–बीउको उपलब्धता, बजार, कृषि बीमा, कर्जा, सिँचाइ, युवा उद्यमशीलता, कृषि अनुसन्धान तथा जलवायु परिवर्तनलगायत विषयमा मन्त्री चौधरीसँग जवाफ मागेका हुन्।
महताले आगामी एक वर्षमा कृषि उत्पादन र किसानको आम्दानी बढाउन मन्त्रालयले लिएका ठोस कार्यक्रम र मापनयोग्य लक्ष्य के–के छन् भन्ने प्रश्नबाट छलफल सुरु गरेका थिए। उनले हरेक वर्ष दोहोरिने रासायनिक मलको अभाव तथा वितरणको समस्या अन्त्य गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना मागे।

त्यस्तै, नेपालमै उत्पादन हुने जैविक तथा प्राङ्गारिक मलको गुणस्तर, बजार र प्रयोग बढाउन आर्थिक प्रोत्साहन तथा सहुलियतको व्यवस्था, किसानले उत्पादन गरेको उपजको उचित मूल्य सुनिश्चित गर्न किसानदेखि उपभोक्तासम्मको बजार प्रणाली सुधार, कृषि बीमा र सहुलियतपूर्ण कृषि कर्जाको वास्तविक किसानसम्म पहुँचका विषयमा पनि उनले प्रश्न गरे।
महताले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सिँचाइ विस्तारको प्राथमिकता कसरी निर्धारण गरिएको छ भन्ने विषयमा समेत स्पष्टता मागे। कृषिमा युवाको आकर्षण बढाउन युवा लक्षित कृषि उद्यम तथा स्टार्टअप कार्यक्रमलाई प्रभावकारी बनाउने योजना र कृषि अनुसन्धानबाट विकसित प्रविधि किसानको खेतसम्म पुर्याउने नार्कको प्रभावकारी संयन्त्रबारे पनि उनले प्रश्न उठाए।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको बाढी, खडेरी, असिना तथा रोग–कीराको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना, कञ्चनपुरसहित तराईका जिल्लामा भारतीय सीमासँग जोडिएको बजारका कारण उत्पन्न प्रतिस्पर्धाको सामना गर्न स्थानीय किसानका उत्पादनलाई प्रतिस्पर्धी बनाउने विशेष कार्यक्रमबारे पनि महताले मन्त्रीसँग जवाफ मागे।
बैठकमा महताले “कृषि प्रधान देश भनिरहँदा पनि किसानले मल, बीउ, सिँचाइ र बजारका लागि वर्षेनी समस्या भोग्नुपर्ने अवस्था कहिलेसम्म रहने हो?” भन्दै यसको समाधानको स्पष्ट समयसीमा मागेका थिए।

त्यसैगरी मन्त्रालयले घोषणा गरेका कृषि कार्यक्रमको बजेट र वास्तविक उपलब्धिबीचको अन्तर कति छ र आगामी वर्षदेखि प्रत्येक कार्यक्रमको उपलब्धि सार्वजनिक रूपमा मापन गर्ने व्यवस्था गर्न मन्त्रालय तयार छ कि छैन भन्ने प्रश्न पनि उनले उठाए।
महताले कृषि उत्पादन बढाउनु मात्रै पर्याप्त नभएको उल्लेख गर्दै किसानको आम्दानी वास्तवमै बढेको प्रमाण देखिने गरी आगामी एक वर्षमा कुन–कुन सूचकमा परिणाम दिने प्रतिबद्धता मन्त्रालयले गर्न सक्छ भन्ने प्रश्नसमेत राखेका छन्।
निर्वाचित भएको करिब ६ महिनाको अवधिमै समितिमा कृषि क्षेत्रका आधारभूत समस्या, किसानको आय, बजार र उत्पादनसँग जोडिएका विषयमा १३ वटा प्रश्न उठाउँदै महताले मन्त्रालयको नीति, बजेट र कार्यान्वयनबीचको सम्बन्धबारे जवाफदेहिता खोजेका छन्।











Discussion about this post