कञ्चनपुर । सार्क एजुकेसन फाउन्डेसनको आयोजनामा ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन २०८३’ सुरु भएको छ । कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा विद्यार्थीले आफ्ना अनुसन्धान, नयाँ विचार, नवप्रवर्तन, कार्यशील नमुना तथा वास्तविक समस्याका व्यावहारिक समाधान प्रस्तुत गरिरहेका छन् ।
सम्मेलनको पहिलो दिन ६ जना विद्यार्थीले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए । अनुसन्धान प्रस्तुति सत्रको अध्यक्षता दिलीप बोहराले गर्नुभएको थियो । कार्यक्रममा डा. मदन देउपा, डा. दीपकप्रकाश भट्ट, डा. यदु ज्ञवाली र डा. रिजाललगायत स्रोत व्यक्तिका रूपमा सहभागी हुनुभएको थियो ।
पहिलो दिन अनुसन्धान तथा नवप्रवर्तनसँगै पाँच जना प्यानल सदस्य सहभागी रहेको प्यानल छलफलसमेत गरिएको थियो । प्यानल छलफलको सहजीकरण फाउन्डेसनका प्लस टू संयोजक राजेश भण्डारीले गर्नुभएको थियो भने सत्रको अध्यक्षता डा. चुडामणि जोशीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा आमन्त्रित अतिथिहरूको सहभागिता थियो ।
फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतका अनुसार सम्मेलनले विद्यार्थीमा अनुसन्धानप्रतिको रुचि, जिज्ञासा र सिर्जनशीलता बढाउँदै आफ्ना खोज तथा नयाँ विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी समुदाय तथा समाजका वास्तविक समस्या पहिचान र समाधान गर्ने माध्यमका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गर्ने उहाँले बताउनुभयो ।
दुईदिने सम्मेलनको पहिलो दिन सांसद ज्ञानेन्द्र महता प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । आज हुने दोस्रो दिनको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनले विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक समाधानतर्फ प्रोत्साहित गर्ने उद्देश्य लिएको छ ।










Discussion about this post