काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीलाई लिएर देखिएको विवाद समाधान गर्न सहमतिको प्रयास जारी रहे पनि नेतृत्वबीच प्रत्यक्ष संवाद हुन नसक्दा अन्योल कायमै छ।
सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटेर पार्टीभित्रको विवाद समाधानका लागि संवाद गर्न पटक–पटक प्रयास गरे पनि समय पाउन नसकेको गुनासो गरेका छन्। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आफू सहमतिको पक्षमा रहेको भन्दै देउवासँग संवादका लागि पहल गरेको जानकारी गराएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार थापाले देउवाका स्वकीय सचिव भानु देउवासँग पटक–पटक सम्पर्क गरी भेटको वातावरण बनाउन आग्रह गरेका थिए। देउवा निकट अन्य नेताहरूसँग समेत कुराकानी गरेर भेटको समय मिलाउन आग्रह गरिएको थापाले बैठकमा बताएका थिए।
तर देउवाका स्वकीय सचिव भानु देउवाले भने सभापति थापाले आफूलाई एकपटक मात्र फोन गरेको बताएका छन्। उनका अनुसार थापाले तत्काल भेट्नेभन्दा समय मिलाउन आग्रह गरेका थिए र त्यसपछि थप सम्पर्क नभएको दाबी छ। उनले थापा भेट्न आए देउवा भेटका लागि तयार रहेको बताएका छन्।
थापाले पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका छन्। पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भएको छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै आवश्यक परे महाधिवेशनको कार्यतालिकामा समेत केही हेरफेर गरेर सहमति कायम गर्न सकिने उनको भनाइ थियो।
तर महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले भने महाधिवेशन प्रक्रिया रोक्न नहुने धारणा राखेका छन्। सहमतिको प्रयासलाई अस्वीकार नगरे पनि अब निर्धारित प्रक्रियालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनीहरूको जोड थियो।
महाधिवेशनको कार्यतालिका संशोधन
कांग्रेसले १५औँ महाधिवेशनको केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ तथा नगर अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ।
केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने कार्यक्रम यथावत् राखिएको छ।
यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि सुरु गर्ने कार्यतालिका थियो। बाढी–पहिरोको विपद् र पार्टीभित्र सहमतिको प्रयासलाई ध्यान दिँदै वडा अधिवेशन पछाडि सारिएको कांग्रेसले जनाएको छ।
देशभरका ६ हजार ७ सय ४३ वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्नुपर्ने भएकाले छोटो समयमै अधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि चुनौतीपूर्ण देखिएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने स्थानीय परिस्थितिअनुसार अधिवेशन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
देउवा पक्षले छुट्टै तयारी अघि बढाउँदै
पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसभित्र पुरानो संरचना र नयाँ नेतृत्वबीचको विवाद कायमै छ। विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध देउवा र पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरे पनि पुनरावलोकनको बाटो खुलेपछि विवाद पूर्ण रूपमा समाधान हुन सकेको छैन।
यसैबीच देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गठित तयारी समितिले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी अलग कार्यतालिका अघि सारेको छ। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारीसमेत गरेको छ।
यता कांग्रेसले भृकुटीमण्डपमा असोज १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाइसकेको जनाएको छ। महाधिवेशनका लागि हल, बगैंचा तथा पार्किङ स्थल बुकिङको प्रक्रिया अघि बढाइएको प्रवक्ता देवराज चालिसेले बताएका छन्।










Discussion about this post