दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खसेर चौलानी (चमेलिया) नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। यद्यपि, थप पहिरो खसेर नदीको बहाव पूर्ण रूपमा अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण नदीको केही भाग थुनिए पनि अहिले उक्त स्थानबाट निरन्तर पानी बगिरहेको छ। नदी पूर्ण रूपमा थुनिएको अवस्था नरहेकाले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
तर, थप पहिरो खसेर नदीको बहाव पूर्ण रूपमा रोकिएमा जोखिम बढ्न सक्ने भएकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले नदीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै स्थानीयवासीलाई अनावश्यक रूपमा त्रसित नहुन आग्रह गर्नुभएको छ। साथै, नदीको बहावमा अचानक परिवर्तन आए तत्काल सुरक्षित स्थानतर्फ जान सक्ने गरी आवश्यक तयारी अवस्थामा रहन उहाँले अनुरोध गर्नुभएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आंशिक रूपमा थुनिएको र थप पहिरो खसेर पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनले नदीको अवस्था हाल सामान्य रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी निरन्तर निगरानी गरिरहेको जनाएको छ।










Discussion about this post