प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाउन आधुनिक प्रविधि, दक्ष जनशक्ति र संरचनागत सुधारलाई प्राथमिकता दिइएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले प्रादेशिक स्तरमा फरेन्सिक सेवा विस्तार, हेटौँडामा अत्याधुनिक ल्याब स्थापना तथा बाँकेमा पनि सेवा विस्तारको तयारी भइरहेको जानकारी दिए।
गम्भीर अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन एकीकृत डीएनए डेटा बैंक स्थापना गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्ने बताए।
आईजीपी कार्कीले प्रहरी हिरासतमा रहेका व्यक्तिको मानव अधिकार संरक्षण, न्यूनतम भौतिक सुविधा, सीसीटीभी निगरानी तथा कानुनी पहुँच सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, लागुऔषध नियन्त्रण र अपराध न्यूनीकरणका लागि ७७ वटै जिल्लामा मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्ने बताए।
प्रहरी, सरकारी वकिल र अदालतबीच समन्वयका लागि ‘एकद्वार डिजिटल सफ्टवेयर प्रणाली’ सञ्चालन गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्।










Discussion about this post