राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले अनशनरत इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले वीर अस्पतालको आईसीयूमा उपचाररत डा. हरिजनको जीवनरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताइन्।
प्रमुख सचेतक ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग राखिन्। साथै, श्रम ऐनमा व्यवस्था भएअनुसार कार्यघण्टा कार्यान्वयन गर्न पनि उनले सरकारसँग आग्रह गरिन्।
‘अहिले वीर अस्पतालको आईसीयूमा एमबीबीएस/बीडीएस इन्टर्नका आन्दोलनरत डा. डिल्ली हरिजन हुनुहुन्छ। माइतीघर मण्डलामा अनशन बसेका उहाँ अहिले आईसीयूमा हुनुहुन्छ। उहाँको मुख्य माग इन्टर्न चिकित्सकलाई समान पारिश्रमिक उपलब्ध गराउनु हो। ती माग तत्काल पूरा गर्न म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ ओलीले भनिन्।
यसैबीच, प्रमुख सचेतक ओलीले प्रधानमन्त्री **वालेन्द्र शाह (बालेन)**ले सीमासम्बन्धी विषयमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखको पनि ध्यानाकर्षण गराइन्।










Discussion about this post