नेपाल राष्ट्र बैंकले जलविद्युत तथा ऊर्जा पूर्वाधार विकासका लागि नीतिगत सहुलियत र लचकता अपनाएको जनाएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले हाल ऊर्जा क्षेत्रमा करिब ५०० अर्ब रुपैयाँ कर्जा लगानी रहेको र थप ९०० अर्ब रुपैयाँसम्म लगानी गर्ने क्षमता रहेको जानकारी दिए।
उनका अनुसार ऊर्जा तथा प्रसारण लाइनजस्ता पूर्वाधार आयोजनाका लागि बैंकहरूले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने विशेष व्यवस्था गरिएको छ। साथै, ऊर्जा बण्ड जारी गर्ने, ठूला आयोजनाका लागि डेडिकेटेड बण्डमार्फत स्रोत जुटाउने तथा जलविद्युत आयोजनामा कर्जा वर्गीकरण र लोन लस प्रोभिजनमा विशेष सहुलियत दिइएको छ।
प्रवक्ता पौडेलले ऊर्जा क्षेत्रको विकासका लागि बैंक ऋणमा मात्र निर्भर नभई ‘फाइनान्सियल रिसोर्स मिक्स’ अपनाउनुपर्नेमा जोड दिँदै ‘ग्रीन फाइनान्स ट्याक्सोनोमी’ले अन्तर्राष्ट्रिय ग्रीन बण्ड र जलवायु कोष आकर्षित गर्न सहयोग पुग्ने बताए।









Discussion about this post