सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा–आराधना तथा धार्मिक अनुष्ठान गरी श्रद्धापूर्वक मनाइँदैछ।
वैदिक मान्यताअनुसार आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। आजैदेखि सूर्यको दक्षिणतर्फको यात्रा अर्थात् दक्षिणायन सुरु हुने विश्वास छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई सनातन हिन्दु परम्परामा विशेष महत्वका साथ मनाइन्छ।
नेपाल कृषि प्रधान देश भएकाले अधिकांश किसान असारभर धान रोपाइँलगायत कृषिकर्ममा व्यस्त रहने गर्छन्। यस क्रममा हिलोमैलोका कारण हुन सक्ने छालासम्बन्धी रोगबाट बच्न साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ परम्परा रहेको छ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरिन्छ। त्यसपछि अगुल्टो फालेर रोग–व्याधि र अशुभ शक्तिलाई घरबाट बाहिर पठाउने सांस्कृतिक विश्वास रहिआएको छ।
लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा घरका ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा प्रचलित छ।
साउने महिना भगवान् शिवको विशेष आराधना गर्ने महिनाका रूपमा पनि परिचित छ। यस अवधिमा देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ भने सोमबारका दिन विशेष पूजा, व्रत र जलाभिषेक गर्ने परम्परा छ।
यसै अवसरमा महिलाले हरियो चुरा, हरियो पोते तथा हरिया वस्त्र धारण गर्ने परम्परा पनि रहेको छ। हरियो रङलाई हरियाली, समृद्धि, सौभाग्य र प्रकृतिसँगको निकटताको प्रतीक मानिने भएकाले साउने महिनाभर हरियो पहिरन लगाउने चलन नेपाली समाजमा व्यापक रूपमा प्रचलित छ।










Discussion about this post