उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम बढिरहेका बेला नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा १२औँ नेपाल हायर एजुकेसन फेयर–२०२६ आयोजना हुने भएको छ।
भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डट कम र अनुपम एकेडेमीको संयुक्त आयोजनामा ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नारासहित असार २७ र २८ गते शैक्षिक मेला आयोजना गर्न लागिएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा भिजन मिडिया इन्कर्पोरेसनका निर्देशक तारामान रावलले नेपालमै विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रम अध्ययन गर्न सकिने विश्वास स्थापित गर्दै स्वदेशी उच्च शिक्षाप्रति सकारात्मक धारणा विकास गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए।
उनका अनुसार मेलामा व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ, चिकित्सा तथा स्वास्थ्य विज्ञान, आतिथ्य, एभिएसन, मानविकी, कानुन, शिक्षा र विज्ञानलगायत विषयका स्नातक तथा स्नातकोत्तर कार्यक्रमबारे विस्तृत जानकारी उपलब्ध गराइनेछ।
मेलामा सहभागी विद्यार्थीलाई निःशुल्क शैक्षिक तथा करियर परामर्श सेवा पनि प्रदान गरिनेछ। साथै एमबीबीएस, बीई/बीटेक, बीआर्क, बीसीए, बीआईटी, बीआईटीएम, बीबीए, बीबीएम, बीबीएस, बीएचएम, बीटीटीएम, बीएससी सीएसआईटी, एमबीए, एमबीएस, एमएससी आईटी लगायत विभिन्न शैक्षिक कार्यक्रमबारे जानकारी दिइने आयोजकले जनाएको छ।
आयोजकले विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक परामर्शदाता तथा अन्य सरोकारवालालाई मेलामा सहभागी भई नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे प्रत्यक्ष जानकारी लिन आग्रह गरेको छ।










Discussion about this post