सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयमा स्पष्ट जवाफ दिन नेपाल सरकारलाई निर्देशन दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा उठाइएका महत्त्वपूर्ण विषयमा सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे पनि सदनलाई जानकारी गराउन निर्देशन दिएका हुन्।
सांसदहरूले विभिन्न समयमा संसदमार्फत सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको उल्लेख गर्दै सभामुख अर्यालले मनसुनजन्य जोखिम बढ्दै गएकाले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरेका तयारी र आगामी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा जोड दिए।
यसैबीच, प्रतिनिधिसभा बैठकमा कर्णाली क्षेत्रका सडकलाई सुरक्षित बनाउन तथा दुर्घटना हुँदा तत्काल उद्धारको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा नागरिक डुबेका घटनामा समेत सरकारले प्रभावकारी उद्धार गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा पटक–पटक हुने सवारी दुर्घटनाबारे गृहमन्त्रीसँग जवाफ माग गरे।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् भने नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सडक असुरक्षाका कारण कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमाइरहेको भन्दै सरकारको उदासीनताप्रति आपत्ति जनाइन्।










Discussion about this post