सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई मतदाता तथा आमजनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेकाले सबै सांसद आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानून निर्माणमा विगतका असल अभ्यासबाट सिक्न, अध्ययनशील बन्न र प्रविधिमैत्री ढंगले काम गर्न सांसदहरूलाई आग्रह गर्नुभयो।
उहाँले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार रहेकाले संसदीय विधि, प्रक्रिया र अभ्यासबारे थप जानकारी गराउन तथा सांसदहरूको भूमिका प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। संसदीय प्रक्रिया र विधिमा दक्ष बन्न यो सिकाइ उपलब्धिमूलक हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा रूपान्तरण हुने भएकाले सोहीअनुसार जिम्मेवार र अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चालन भइरहेको यो अभिमुखीकरण कार्यक्रम सोमबार र मङ्गलबारसम्म जारी रहने सचिवालयले जनाएको छ।










Discussion about this post