म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको आयोजनामा दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न सुरु गरिएको हो।
रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार निर्माण सम्पन्न भइसकेका संरचनाको परीक्षण गर्ने क्रममा करिब ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङमा पानी भर्न थालिएको छ।
दग्नाम (वडा नं. ४) र झिँ (वडा नं. ५) फेदीमा रहेको बाँध तथा दुई वटा पानी थिग्र्याउने पोखरीको परीक्षण यसअघि नै सम्पन्न भइसकेको छ। अब भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने तयारीमा रहेको केसीले जानकारी दिए।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६) मा ६ अर्ब रुपैयाँमा ४५ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो।
पटक–पटक म्याद थप हुँदै आएको आयोजनाको हाल चौथो पटक थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।







Discussion about this post