काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। चितवनका कमल ऐरीले ४ तथा रिजन ढकालले २ विकेट लिए।
एक समय ५ विकेट गुमाएर १३२ रन बनाएको विराटनगरले त्यसपछि थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमायो।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए। विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले १–१ विकेट लिए।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजे सुरु हुनेछ।
हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।
तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, विदेशी खेलाडीको सहभागिता र दर्शकको बढ्दो आकर्षणले प्रतियोगितालाई थप विशेष बनाएको छ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ टोली सहभागी छन्। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post