कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथिको दोधारा–चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको पुनर्निर्माण र नियमित मर्मतसम्भार गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई दुःखी बनाएको भन्दै यसको यथाशीघ्र पुनर्निर्माणका लागि नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

उनले दोधारा–चाँदनीलाई मात्र नभई सिंगो देशलाई जोड्ने ऐतिहासिक सम्पदाका रूपमा यस पुलको महत्व रहेको बताए। विगतमा दोधारा–चाँदनीका बासिन्दालाई नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले पुल निर्माणपछि उक्त समस्या समाधान भएको उल्लेख गरे।
लेखकका अनुसार २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक निर्वाचित भएपछि उनले तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा–चाँदनी जोड्ने प्रस्ताव राखेका थिए। त्यसबेला असम्भव भनिएको योजना नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र निर्माणकर्ताको प्रयासबाट सफल भएको उनले बताए।
उनले उक्त पुल निर्माणले नेपालमा लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा समेत योगदान पुर्याएको उल्लेख गर्दै यसको संरक्षण, पुनर्निर्माण र नियमित मर्मतसम्भारमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।










Discussion about this post