परराष्ट्रमन्त्री Shishir Khanal मित्रराष्ट्र China को चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कनुभएको छ। उहाँ चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य Wang Yi को मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा गहन र उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटवार्तामा आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्ष सहमत भएका थिए। नेपालका तर्फबाट ‘एक चीन नीति’प्रति सरकारको प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्याइएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गरेको छ। साथै सुशासन, आर्थिक विकास र नेपाल सरकारले तय गरेका प्राथमिकताहरूमा सहयोग जारी राख्ने विश्वास पनि व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
भेटमा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। साथै जनस्तरको सम्बन्ध सुदृढ बनाउने र विगतमा सहमति भएका परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख Liu Haixing सँग पनि भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, द्विपक्षीय सहयोग विस्तार गर्ने तथा राजनीतिक दलहरूबीच सम्पर्क र सहकार्य बढाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।










Discussion about this post