बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन गरिएको छ। गेरुवा गाउँपालिकाको सहयोग र बास नेपालको सहजीकरणमा लक्षित वर्ग उत्थान कार्यक्रमअन्तर्गत प्रशासनतर्फ चौथो र पाँचौं तह वा सो सरहको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको थियो।
समापन कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहभागी युवाहरुलाई सुझाव दिए। उनले स्थानीय युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताए।
त्यस्तै, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्थानीय सरकारले आफ्नै युवाका लागि गाउँमै लोकसेवा तयारी कक्षाको व्यवस्था गर्नु सकारात्मक पहल भएको उल्लेख गरे। उनले गाउँबाटै तयारी गर्न पाउनु सहभागीका लागि ठूलो अवसर भएको भन्दै यसको सही सदुपयोग गर्न आग्रह गरे।
सहभागी सनिश थारुले आफ्नै गाउँमा लोकसेवा तयारी कक्षा लिन पाएकोमा खुसी व्यक्त गर्दै आवश्यक ज्ञान र टिप्स प्राप्त भएको बताए।
कार्यक्रममा सहभागीलाई प्रमाणपत्र तथा लोकसेवा सम्बन्धी पुस्तकहरू वितरण गरिएको थियो।
समापन कार्यक्रम गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष निमृल कुमार चौधरी, बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, लेखा अधिकृत सुदिप सिग्देल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन गेरुवा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमा पुन मगरले गरेकी थिइन्।










Discussion about this post