काठमाडौं, जेठ २५ – सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब ३ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलनमार्फत “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट र दार्चुलाका गरिब, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिनेछ।

कार्यक्रमअन्तर्गत झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश तथा क्यापलगायत सामग्री वितरण गरिने जनाइएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। दुर्गम तथा आवश्यकतामा रहेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
२०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको संस्थाले हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद् राहत, विद्यालय भवन निर्माण तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ।
संस्थाका अनुसार शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवालासँग सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।








Discussion about this post