कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदी जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरण, अन्तरनिकाय समन्वय, स्रोत साझेदारी र आपतकालीन पूर्वसूचना संयन्त्रको व्यवहारिक परीक्षणका लागि छलफलमा आधारित कृत्रिम घटना नमूना अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा बुधबार महेन्द्रनगरमा आयोजित यस बृहत् अभ्यासमा महाकाली नदी जलाधार क्षेत्रका दोधारा चाँदनी र भीमदत्तका साथै चौधर जलाधार क्षेत्रका वेदकोट र बेलडाँडीलाई विशेष रूपमा केन्द्रीत गरिएको थियो।

अभ्यासमा जिल्लाका अन्य पालिकाका विपद् सम्पर्क व्यक्तिहरूको समेत सक्रीय सहभागिता रहेको थियो।त्यस्तै अभ्यासमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरू, वडा प्रतिनिधिहरू, आपतकालीन कार्यसञ्चालन केन्द्र, सुरक्षा निकायहरू, जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरूको थियो। साथै, डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर), क्लस्टर प्रतिनिधिहरू, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय युवा/नागरिक वैज्ञानिक, उत्थानशील युवा सञ्जाल र विपद् प्रभावित समुदायका प्रतिनिधिहरू सहितको सक्रिय सहभागिता रहेको थियो।

अभ्यासमा सहभागीहरूलाई ६ वटा कार्यगत समूहमा विभाजन गरी सुक्खा, तातो हावाको लहर, पूर्वसूचना, बाढी, उद्धार, आश्रय, राहत, र गुनासो व्यवस्थापन सम्बन्धी १३ वटा जटिल घटना परिदृश्यहरूमा विस्तृत छलफल र संकट व्यवस्थापनको अभ्यास गरिएको थियो। त्यस्तै अभ्यासमा १५१ वटा संकटकालीन सन्देशहरू आदान-प्रदान गरी संकटको समयमा सूचना प्रवाह, द्रुत निर्णय प्रक्रिया, स्रोत परिचालन र अन्तरनिकाय समन्वयको वास्तविक एवम् व्यवहारिक परीक्षण समेत गरिएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले यो अभ्यास विपद् प्रतिकार्य योजनालाई परिपक्व बनाउन पूर्ण रूपमा सफल भएको बताउनुभयो। उहाँले सरोकारवाला निकायहरू एकै ठाउँमा आएर गरिएको यो अभ्यासले जिल्लाको समग्र विपद् पूर्वतयारी, द्रुत सूचना प्रवाह र संकटका बेला गरिने निर्णय प्रक्रियालाई थप सवल र प्रभावकारी बनाउन मद्दत पुर्याउने बताउनुभयो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले मौसम विभागबाट जारी भएको सूचनालाई समुदायस्तरसम्म कसरी तल्लो तहमा पुर्याउने र त्यसलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा यो अभ्यास महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विभागको आधिकारिक पूर्वानुमानलाई स्थानीय तहले पूर्वकार्य सँग जोड्न आवश्यक रहेको बताउनुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी वातावरण निरीक्षक बिना चौधरीले यो अभ्यास ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३’ अन्तर्गतकै एक हिस्सा भएको बताउनुभयो। उहाँले स्थानीय स्तरमा समन्वय बढाउन र केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच विपद् व्यवस्थापनमा एकरूपता ल्याउन यसले ठूलो भूमिका खेल्ने बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले महाकाली र चौधर नदीको चपेटामा पर्ने पालिकाहरूका लागि यो अभ्यास निकै समयसान्दर्भिक रहेको बताउनुभयो। यस अभ्यासले बाढी र अन्य विपद् आउनुपूर्व नै पालिकाहरूले गर्नुपर्ने तयारी र उनीहरूबीचको स्रोत साझेदारीको आवश्यकतालाई स्पष्ट पारेको उहाँले बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले यस किसिमको टेबुलटप अभ्यासले सरकारी निकाय, सुरक्षा संयन्त्र र सरोकारवालाहरूबीच कसरी अझ बढी व्यवस्थित र द्रुत रूपमा उद्धार तथा राहत कार्यमा खटिन सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिएको बताउनुभयो। उहाँले संकटको समयमा सूचनाको सही प्रवाह र सामूहिक निर्णय प्रक्रिया कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा आजको परिदृश्य अभ्यास र सन्देश आदानप्रदानले पुष्टि गरेको बताउनुभयो।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले स्थानीय स्तरमा उपलब्ध प्रविधि र युवा जनशक्तिलाई विपद् व्यवस्थापनमा जोड्न सके क्षति निकै कम गर्न सकिने बताउनुभयो। यो टेबुलटप अभ्यासले स्थानीय स्रोत र ज्ञानलाई नीतिगत निर्णयसँग जोड्ने पुलको काम गरेको उहाँको भनाइ रहेको छ।

डिसीए नेपालका प्रोग्राम म्यानेजर दिनेश गुरुङले यो कार्यक्रमले विपद्का बेला सरोकारवाला बीच के कस्तो समन्वय हुन्छ र कहाँ-कहाँ सुधार गर्नुपर्ने ठाउँहरू छन् भन्ने कुरा छर्लङ्ग पारेको बताउनुभयो। पूर्वसूचनाका आधारमा विपद् आउनु अगावै गरिने पूर्वकार्यलाई संस्थागत गर्न यो अभ्यास महत्त्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।











Discussion about this post