कञ्चनपुर । महेन्द्रनगरमा सञ्चालित ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ ले विभिन्न सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने निःशुल्क शारीरिक तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभाग जस्ता सुरक्षा निकायहरूमा करियर बनाउन इच्छुक युवाहरूलाई पूर्वतयारी स्वरूप यो अवसर प्रदान गरिएको हो।
दुई दिनसम्म सञ्चालन भएको उक्त विशेष परीक्षण कार्यक्रम सुरक्षा निकायका विज्ञ प्रशिक्षकहरूद्वारा प्रत्यक्ष निगरानी र परामर्शसहित सम्पन्न गरिएको सेन्टरले जनाएको छ।
सेन्टरका सञ्चालक चेतराज पन्तले सुरक्षा फौजमा भर्ना हुनका लागि शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनु अनिवार्य सर्त रहेकाले विद्यार्थीहरूलाई भर्ना प्रक्रियाको प्रारम्भिक चरणमै आत्मविश्वास बढाउन र उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले धेरैजसो विद्यार्थीहरूमा लोकसेवाको तयारी र शारीरिक क्षमता राम्रो भए पनि प्राविधिक वा स्वास्थ्यका साना त्रुटिका कारण छनोट प्रक्रियाबाट बाहिरिनुपर्ने बाध्यता रहेकाले त्यसको पूर्वमूल्यांकन गर्न निःशुल्क स्वास्थ्य शिविर कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
विगत लामो समयदेखि सुरक्षा निकायका विभिन्न पदहरूका लागि तयारी कक्षाहरू सञ्चालन गर्दै आएको यस थर्ड आई करियर डेभलपमेन्ट सेन्टरमा हाल लोकसेवा आयोगद्वारा लिइने लिखित परीक्षा र शारीरिक योग्यता (फिजिकल) का कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्।
सञ्चालक पन्तका अनुसार सेन्टरले केवल सैद्धान्तिक ज्ञान मात्र नभई विद्यार्थीहरूलाई मैदानमै उतारेर शारीरिक अभ्यास, दौड र अनुशासनका पाठहरू समेत सिकाउँदै आएको छ। आगामी दिनहरूमा पनि विद्यार्थीहरूको आवश्यकता र मागलाई ध्यानमा राख्दै यस्ता उत्प्रेरणात्मक र प्रयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने सेन्टरले जनाएको छ।










Discussion about this post