काठमाण्डौ – कास्कीको पोखरा विमानस्थलबाट निःशुल्क सटल बस सेवा शुरू भएको छ ।
नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म हिजोदेखि निःशुल्क सटल बस सेवा शुरु गरिएको हो ।
पोखरा महानगरका मेयर धनराज आचार्यले निःशुल्क सटल बस सेवाको शुभारम्भ गर्नुभयो । पोखरा महानगरपालिकाको पहलमा महानगर यातायात प्रालि, कृषि विकास बैंक, कामना सेवा विकास बैंकको सहकार्यमा सेवा शुरू गरिएको हो ।
पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइनेछ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना छ । पोखराका मेयर आचार्यका अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा पर्यटक तथा विमानस्थलमा झर्ने यात्रुले महँगो ट्याक्सी भाडाको गुनासो गरेपछि यसको विकल्पका रूपमा सटल बस सेवा शुरू गरिएको हो ।
विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई पुर्याएपछि विभिन्न विकल्पबाट यात्रु गन्तव्यमा पुग्न सक्छन् । पहिलो चरणमा २ वटा बसबाट सेवा सञ्चालन गरिएको छ ।
बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ । पोखरा विमानस्थल हुँदै दैनिक ५ हजारसम्म यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।








Discussion about this post