काठमाडौं । संघीय संसद्का दुवै सदनमा ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक छलफलका क्रममा छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच, अर्थ समितिमा चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीन वटा विधेयक विचाराधीन छन्।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुई वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक छलफलमा रहेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी राष्ट्रिय सेवा दल विधेयकको सन्देश मात्रै रहेको उनले बताए।
प्रतिनिधिसभाका समितिमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायतमा छलफल भइरहेको छ।
यसैबीच, संघीय संसद्मा नयाँ दर्ता भएका विधेयकको संख्या सात पुगेको छ। अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। त्यसपछि थप छ वटा विधेयक दर्ता भएका हुन्।
अधिवेशन अन्त्यपछि दर्ता भएका विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गरेका थिए।
सचिवालयका अनुसार सभामा प्रस्तुत भएर छलफल हुन बाँकी डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक पनि विचाराधीन छ। समितिमा छलफल भई प्रतिवेदन तयार भएका दुई विधेयकसमेत प्रक्रियामा छन्। संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन सभामा पेस भइसकेको छ भने नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको प्रतिवेदन सचिवालयमा पुगेको छ।
संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकको संख्या १२ पुगेको छ। त्यस्तै, संसद्मा प्रस्तुत भएका छ वटा सन्धि तथा महासन्धि पनि पारित भइसकेका छन्।
दशैं बिदापछि प्रतिनिधिसभाका विषयगत समितिमा विचाराधीन विधेयकमाथिको छलफल पुनः अघि बढाइने सचिवालयले जनाएको छ। बिदाअघि केही विधेयकमाथि दफावार छलफल भइरहेको थियो भने केहीमा सैद्धान्तिक छलफल सुरु भएको थियो। अब विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अघि बढाउने तयारी छ।










Discussion about this post