काठमाडौं । दसैं बिदापछि सोमबार खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९.८२ विन्दुमा झरेको हो।
यस दिन ३४१ वटा स्क्रिप्सका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २४ लाख १ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर ५.८१ प्रतिशत, सोनापुर मिनरल्स एन्ड आयलको ५.०७ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको ४.७२ प्रतिशत र घोराही सिमेन्ट इन्डस्ट्रिजको ४.४७ प्रतिशतले बढेको छ।
यता, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको २० करोड, माउन्टेन इनर्जी नेपालको १७ करोड तथा ग्रीन भेन्चर्स र हिमालयन डिस्टिलरीको १५–१५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये ९९ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समूहगत उपसूचकतर्फ चार समूह सकारात्मक देखिएका छन्। हाइड्रोपावर, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचकमा गिरावट आएको छ।










Discussion about this post