बैतडी । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर–२ शर्मालीमा रहेको शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आइतबार आयोजित साधारण सभा संस्थाकी अध्यक्ष कुन्दा साउँदको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभामा शिवनाथ गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष सुरेन्द्र सिंह साउँद प्रमुख अतिथि रहनुभएको थियो। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउँदले सहकारीमार्फत उपलब्ध गराइने कृषि ऋणको सही सदुपयोग गरी आम्दानी वृद्धि गर्नु र समयमै ऋण चुक्ता गर्नु सदस्यहरूको दायित्व भएको बताए। सहकारीले सदस्यहरूको जीवनस्तर सुधार तथा आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले उल्लेख गरे।
वडा अध्यक्ष साउँदले सीप विकास, व्यवसाय प्रवर्द्धन र उत्पादनशील कार्यमा संलग्न हुन सहकारीले सहज रूपमा ऋण उपलब्ध गराउँदै आएको बताउँदै सहकारीको सफलताका लागि सञ्चालन समितिको विवेकशीलता, कर्मचारीको कर्मठता र शेयर सदस्यहरूको इमानदारी अत्यन्त आवश्यक हुने बताए।
संस्थाकी अध्यक्ष कुन्दा साउँदले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था नाफामुखी नभई सेवा मुखी संस्था भएको स्पष्ट पारिन्। उनले आर्थिक रूपमा कमजोर सदस्यहरूलाई रोजगारमुखी बनाउने तथा जीवनस्तर उकास्ने उद्देश्यले ऋण तथा विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको बताइन्।
यस्तै, आन्तरिक आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष साउँदले हाल सहकारीमा एक हजार नौ सय ५५ जना शेयर सदस्य आबद्ध रहेको जानकारी दिइन्।
सहकारीको कुल आर्थिक अवस्थाबारे जानकारी दिँदै संस्थाका फिल्ड को–अर्डिनेटर राज सिंह खत्रीले संस्थाले हालसम्म पाँच करोड १० लाख नौ हजार पाँच सय ५६ रुपैयाँ बराबरको कारोबार गरेको बताए।










Discussion about this post