महेन्द्रनगर, साउन १९ – कञ्चनपुरको वेदकोट नगरपालिकाले रोजगार, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
“समृद्ध वेदकोटको आधार : सीप, उद्यम र सहकार्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, कञ्चनपुरका नौवटै स्थानीय तहका रोजगार संयोजक, सीप विकास केन्द्र कञ्चनपुरका प्रतिनिधि, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, निर्माण व्यवसायी संघका प्रतिनिधि, होटल सञ्चालक, गैसस महासंघलगायत विभिन्न निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ को प्रभावकारी कार्यान्वयन, निजी क्षेत्रसँगको साझेदारी विस्तार तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख तुलसी जोशीले बजारको आवश्यकता अनुसार बिक्रीयोग्य तथा व्यवहारिक सीप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एउटै व्यक्तिलाई बहुआयामिक सीप प्रदान गर्न सके आयआर्जनका अवसर बढ्ने उल्लेख गर्दै घर निर्माण गर्ने मिस्त्रीलाई वायरिङ र प्लम्बिङसमेत सिकाउन सकिए थप आम्दानी गर्न सक्ने बताउनुभयो।
उहाँले नगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई निजी क्षेत्रसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै आगामी दिनमा रोजगार सिर्जना र उद्यमशीलता विकासमा निजी क्षेत्रको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा वेदकोट नगरपालिकाका रोजगार संयोजक भोजराज अवस्थीले स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीचको समन्वयले रोजगारी सिर्जना, सीप विकास तथा उद्यम प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नगरपालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमलाई निजी क्षेत्रको आवश्यकताअनुसार सञ्चालन गरिने र तालिम प्राप्त युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध वेदकोट निर्माणका लागि सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।











Discussion about this post