काठमाडौं । अमेरिकामा मुद्रास्फीति बढ्दै गएपछि केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप वृद्धि गर्न सक्ने संकेत देखिएको छ। यसले अमेरिकी अर्थतन्त्रसँगै विश्व वित्तीय बजार र विकासोन्मुख देशहरूको अर्थतन्त्रमा समेत दबाब बढाउने जोखिम देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकामा मुद्रास्फीति नियन्त्रणबाहिर जान थालेपछि फेडरल रिजर्भमाथि ब्याजदर बढाउन दबाब परेको छ। ब्याजदर वृद्धिको सम्भावनाले अन्तर्राष्ट्रिय व्यापार, लगानी र वित्तीय बजारमा अनिश्चितता बढाएको छ।
अमेरिकामा गएको अक्टोबर महिनामा व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर ३ दशमलव ८ प्रतिशत पुगेको छ। यो अघिल्लो महिना सेप्टेम्बरको तुलनामा शून्य दशमलव १ प्रतिशत विन्दुले बढी हो। फेडरल रिजर्भले मुद्रास्फीति मापनका लागि प्राथमिकता दिने यो सूचकांक उसको २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर हो।
अमेरिकामा उपभोग खर्चमा निरन्तर वृद्धि, आयातमा लगाइएका भन्सार शुल्क तथा भूराजनीतिक तनावका कारण उत्पादन र आपूर्ति लागत बढ्दा मुद्रास्फीतिमा चाप परेको विश्लेषण गरिएको छ।
अमेरिकाले ब्याजदर बढाए त्यसको प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्नेछ। अमेरिकी वित्तीय बजारमा बढी प्रतिफल पाउने सम्भावना बढ्दा लगानीकर्ताले विकासोन्मुख तथा उदीयमान अर्थतन्त्रबाट पुँजी निकालेर अमेरिकी बजारमा लगानी गर्न सक्ने जोखिम हुन्छ।
यसले विकासोन्मुख देशको मुद्रा कमजोर बनाउने, विदेशी लगानी घटाउने र अन्तर्राष्ट्रिय ऋण महँगो बनाउने दबाब सिर्जना गर्न सक्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्ययनले पनि अमेरिकी मौद्रिक नीतिमा हुने कडाइले उदीयमान अर्थतन्त्रको पुँजी प्रवाह र वित्तीय अवस्थालाई प्रभावित पार्न सक्ने देखाएका छन्।
यसैबीच, अमेरिकामा बढ्दो जीवनयापन खर्च, पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढाव र मध्यपूर्वको द्वन्द्वले विश्व अर्थतन्त्रको अनिश्चितता थप बढाएको छ।










Discussion about this post