काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार भएपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया पुनः सञ्चालन गर्न सहज हुनेछ।
नयाँ नीतिले आगामी दिनमा कुन प्रकृतिका ऊर्जा आयोजना कति आवश्यक पर्छन् भन्ने आधार तय गर्नेछ। हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ। यसको ठूलो हिस्सा नदी प्रवाही जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको छ।
यसअघि १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई आधार मानेर ऊर्जा मिश्रण निर्धारण गरिएको थियो। तर सरकारले उत्पादनको लक्ष्य बढाएर ३० हजार मेगावाट पुर्याएपछि पुरानो ढाँचा पर्याप्त नहुने निष्कर्षसहित नयाँ नीति बनाउन लागेको हो।
नयाँ ऊर्जा मिश्रणमा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को हिस्सा निर्धारण गरिनेछ।
यसअघि प्रस्ताव गरिएको ऊर्जा मिश्रणमा जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाको हिस्सा ३० देखि ३५ प्रतिशत, नदी प्रवाही आयोजनाको २५ देखि ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० देखि ३५ प्रतिशत र अन्य वैकल्पिक ऊर्जाको पाँचदेखि १० प्रतिशत रहने व्यवस्था थियो।
नयाँ ऊर्जा मिश्रणले विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउन सहज बनाउनुका साथै निजी क्षेत्रको लगानी आकर्षित गर्न, आयोजना निर्माणलाई गति दिन र रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post