काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेल सेवा भोलिदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ। भारतीय रेल्वेले व्यावसायिक सञ्चालनको तयारीसँगै यात्रुका लागि टिकट बुकिङसमेत खुला गरेको छ।
रेलको भाडादर न्यूनतम ५८४ रुपैयाँदेखि अधिकतम २ हजार १७६ रुपैयाँसम्म निर्धारण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको सोमबार संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गरेका थिए।
हप्तामा एक दिन सञ्चालन हुने रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ। करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले नेपालसहित भारतको बिहार र उत्तर प्रदेशका विभिन्न क्षेत्रलाई जोड्नेछ।
भारतीय रेल्वेले निर्धारण गरेको भाडादरअनुसार शयनयान (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ अर्थात् नेपाली करिब ५८४ रुपैयाँ पर्नेछ। त्यस्तै, इकोनोमी श्रेणीको ८८५, तृतीय श्रेणीको ९६५ र द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको छ।
नेपाल रेल्वे कम्पनीका अनुसार नेपाली यात्रुले भारतीय रुपैयाँमा निर्धारण गरिएको भाडाबराबरको रकम नेपाली रुपैयाँमा तिर्नुपर्नेछ।
यात्राका क्रममा रेल उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।
यात्रुहरूले भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालका अधिकृत सेवा एजेन्टमार्फत टिकट बुकिङ गर्न सक्नेछन्। यात्राका क्रममा नागरिकता वा मान्य परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालनमा आएपछि धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। यसले रामायण सर्किटको विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।











Discussion about this post