काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा एकै दिन चार राष्ट्रिय कीर्तिमान कायम भएका छन्।
नेपालगञ्जमा भएको पौडी प्रतियोगितामा सुदूरपश्चिमका अर्थव सिंहले पुरुष ४०० मिटर फ्रिस्टाइलमा ४ मिनेट ५६.७६ सेकेन्डको समय निकाल्दै आफ्नै पुरानो कीर्तिमान सुधारसहित स्वर्ण जितेका छन्। उनले सुदूरपश्चिमका लागि पहिलो स्वर्णसमेत दिलाए।
त्यस्तै, बागमतीका अभिव प्रधानले पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा, एनआरएनएका लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा तथा नेपाल पुलिस क्लबको टोलीले रिले स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पदक तालिकामा बागमती प्रदेश ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित शीर्ष स्थानमा छ। एनआरएनए दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा छन्।
अन्य खेलतर्फ महिला बास्केटबलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनीलाई ३–० गोलले हराएको छ भने बागमती र कोशीले २–२ गोलको बराबरी खेलेका छन्।
महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ। अर्को खेलमा कोशीले आयोजक कर्णालीलाई ४९ रनले हराएको छ।
प्रतियोगिताका खेल मंसिर ८ गतेदेखि सुरु भएका हुन् भने औपचारिक उद्घाटन मंसिर १६ गते हुने कार्यक्रम छ।










Discussion about this post