काठमाडौं । सरकारले विपद्का कारण निजी आवास पूर्ण रूपमा क्षति भएका वा आंशिक क्षति भई बस्न अयोग्य बनेका परिवारलाई राहत अनुदानका लागि आवेदन दिन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित परिवारलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइनेछ। चार जनासम्म सदस्य भएको परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन्।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले भने थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँका दरले अनुदान पाउनेछन्।
आवेदनमा परिवारका सबै सदस्यको विवरणसहित अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, एकल महिला, दीर्घरोगी, भूमिहीन तथा अन्य लक्षित समुदायको अवस्था खुलाउनुपर्नेछ।
प्राधिकरणले बैंक खाता खोल्न नसक्ने प्रभावित परिवारलाई आवश्यक व्यवस्था मिलाएर नगदसमेत वितरण गर्न सकिने जनाएको छ।











Discussion about this post