काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभामा अघि सारेको ‘त्रिदेशीय जलवायु संयन्त्र’ निर्माणको प्रस्ताव नउठेपछि जलवायु विज्ञहरूले आश्चर्य व्यक्त गरेका छन्।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनबीच संयुक्त जलवायु संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव गरेका थिए। हिमाललाई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने उनको धारणा थियो।
तर, दुईदिने भारत भ्रमणका क्रममा उक्त विषयमा छलफल नभएको पाइएको छ। भारतका विदेशसचिव विक्रम मिश्रीले नेपालबाट यस विषयमा ठोस प्रस्ताव नआएको बताएका छन्। उनले नेपालले कस्तो प्रकारको संयन्त्र चाहेको हो भन्नेबारे औपचारिक प्रस्तावको प्रतीक्षामा रहेको स्पष्ट पारे।
जलवायुविज्ञ डा. विमल रेग्मीले भारतको भनाइले नेपालले आवश्यक तयारी नगरी भ्रमण गरेको देखिएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार भारत भ्रमणअघि नै नेपालले छिमेकी मुलुकसँग पत्राचार गरी प्रस्ताव अघि बढाउनुपर्ने थियो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले भने प्रधानमन्त्रीले उठाएको विषय कार्यान्वयनमा जान निश्चित प्रक्रिया आवश्यक पर्ने बताएका छन्। उनका अनुसार परराष्ट्र मन्त्रालयले यससम्बन्धी कार्ययोजना बनाउन निर्देशन दिइसकेको छ। तर, कोप सम्मेलनको तयारीका कारण कार्ययोजनाले पूर्णता पाउन सकेको छैन।
संयुक्त वक्तव्यमा जलवायु सहकार्य समेटियो
त्रिदेशीय जलवायु संयन्त्रको विषय नउठे पनि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी संयुक्त वक्तव्यमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी सहकार्यलाई प्राथमिकता दिइएको छ।
वक्तव्यमा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, हिमनदी तथा हिमतालको अनुगमन, पूर्वसूचना प्रणाली सुदृढीकरण र विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्ने उल्लेख छ।
त्यस्तै, संयुक्त विपद् प्रतिकार्य अभ्यास, क्षमता अभिवृद्धि, जलवायु उत्थानशीलता, वन व्यवस्थापन तथा जोखिम नक्सांकनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।
दुवै देशले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, विपद् प्रतिरोधी पूर्वाधार गठबन्धन तथा इसिमोडलगायतका संस्थामार्फत पनि सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।










Discussion about this post