काठमाडौं । विपद्को समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ (सीबीएस) प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ।
विपद्का बेला छिटो, सरल र प्रभावकारी रूपमा सूचना प्रवाह गरी मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबार साँझ प्रणालीको पहिलो चरणको परीक्षण गरिएको हो।
गृहमन्त्री सुधन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा परीक्षण सम्पन्न भएको हो। नेपाली प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रविधिलाई विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यस प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनहरूमा एकैपटक आपतकालीन सूचना पठाउन सकिन्छ। प्रारम्भिक परीक्षण सफल भएपछि अब पोखरामा एनसेलको सञ्जालमार्फत थप परीक्षण गरिने तयारी छ।
त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो प्रविधिबाट सिमकार्ड वा इन्टरनेट नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा आपतकालीन सन्देश प्राप्त हुन सक्छ।
सामान्य एसएमएसभन्दा फरक प्रविधि भएकाले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत छोटो समयमै ठूलो संख्यामा मोबाइल उपकरणमा सूचना पुर्याउन सकिन्छ। नेपालजस्तो बहुविपद् जोखिमयुक्त मुलुकमा यस प्रणालीको प्रयोगले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post