काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार चीनको तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोला आसपास भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने सार्वजनिक भएको छैन।
यता, अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।










Discussion about this post