काठमाडौं । काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था आईक्यूएयरका अनुसार आज बिहान काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा परेको छ।
बिहान साढे ८ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ रहेको थियो। यो स्तरको वायु स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ।
प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो, बंगलादेशको ढाका २०८ सहित दोस्रो र भारतको कोलकाता १९९ सहित तेस्रो स्थानमा रहेका छन्।
वायु गुणस्तर सूचकांक १५० नाघेपछि हावा स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ भने २०० नाघेपछि अति अस्वस्थकर तहमा पुग्छ।
काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले चिसो र प्रदूषण दुवै बढिरहेको अवस्थामा स्वास्थ्य सतर्कता अपनाउन तथा घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।










Discussion about this post