कञ्चनपुर । गरिब, विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै कञ्चनपुरमा २० रुपैयाँमै पेटभरि खाना खुवाउने अभियान सुरु गरिएको छ। अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न महेन्द्रनगरमा श्री प्रशादमको ट्रस्ट भवन निर्माणको शिलान्यास गरिएको छ।
ऋषिकेश पीठ धर्म संरक्षण तथा सम्बर्द्धन समिति नेपालको अगुवाइमा श्री प्रशादम महेन्द्रनगर शाखाको ट्रस्ट भवन निर्माण गर्न लागिएको हो। उक्त भवनको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले शिलान्यास गर्नुभएको छ।
भवन निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका सदस्य डा. सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो। भवन निर्माण सम्पन्न भएपछि आर्थिक अवस्था कमजोर भएका, गरिब तथा असहाय नागरिकलाई २० रुपैयाँमै पेटभरि खाना उपलब्ध गराइने उहाँले बताउनुभयो।
भवन निर्माण तथा सेवा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत दान तथा चन्दामार्फत जुटाइने जनाइएको छ। आर्थिक अभावका कारण दैनिक छाक टार्नसमेत समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी सुरु गरिएको यस अभियानले विपन्न तथा असहाय व्यक्तिलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक सेवाको भावनासहित अघि बढाइएको यस अभियानले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र आपसी सद्भावलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।










Discussion about this post