भक्तपुर । गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा कलाकार सर्विन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ।
बोगटीलाई मंगलबार अपराह्न भक्तपुरको सूर्यविनायकबाट नियन्त्रणमा लिइएको हो। परिवारका सदस्यका अनुसार इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका कर्मचारी भएको बताउँदै घरमा पुगेका सादा पोसाकका दुई प्रहरीले उनलाई नियन्त्रणमा लिएर गएका थिए। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा बोगटीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले पुष्टि गरेका छन्। उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताइएको छ।
कालिकोट स्थायी घर भएका बोगटी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन्। पूर्व जनमुक्ति सेनासमेत रहेका उनी गायक तथा संगीतकारका रूपमा परिचित छन्।
बोगटीले सोमबार आफ्नो फेसबुक पेजमा गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो।










Discussion about this post