काठमाडौं । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गर्ने भएको छ। साथै कार्यक्रमको कार्यक्षेत्र, कार्यान्वयन विधि र जलवायु वित्त तथा अनुकूलनका पर्वतविशेष सूचक स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदायले सामना गरिरहेका जोखिम न्यूनीकरण गर्ने उद्देश्यले छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने प्रस्ताव निर्णय मस्यौदामा समेटिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपालले कार्यक्रम सन् २०२७ देखि सुरु गर्ने समयसीमा, यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न प्रस्ताव गर्नेछ। त्यसैगरी जलवायु वित्त र अनुकूलनका लागि पर्वतीय क्षेत्रसँग सम्बन्धित सूचक निर्धारण गर्न पनि नेपालको जोड रहनेछ।
कोप–३१ को अध्यक्षताले विभिन्न पक्ष राष्ट्रसँगको परामर्शपछि तयार पारेको निर्णय मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव उल्लेख छ।
उक्त कार्यक्रमले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक बुझाइ अभिवृद्धि गर्ने, अनुकूलनका गतिविधि सञ्चालन गर्ने, उत्थानशीलता बढाउने तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, मस्यौदाको बुँदा ३२ मा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवाद आयोजना गर्ने र त्यसलाई निरन्तरता दिने उल्लेख छ।
मस्यौदामा पर्वतीय जलवायु कार्यक्रमसम्बन्धी प्रस्ताव समेटिनुलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा पर्वतीय मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा भएको प्रगतिका रूपमा हेरिएको छ।
यद्यपि, नेपाल र भुटानले गत अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका सबै विषय भने निर्णय मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन्।










Discussion about this post