महेन्द्रनगर । नेपाल औषधि व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष (खुद्रा) पदमा सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेव लेखकले उम्मेदवारी घोषणा गरेका छन्।
संघको १५औँ राष्ट्रिय अधिवेशन तथा ५३औँ वार्षिक साधारण सभा आगामी मंसिर ५ र ६ गते सुर्खेतमा हुँदैछ। अधिवेशन नजिकिएसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको हो।
झन्डै २२ वर्षदेखि कञ्चनपुरमा औषधि व्यवसायमा सक्रिय लेखकले संघको महाकाली अञ्चल शाखाको महासचिव, सुदूरपश्चिम प्रदेश समितिको महासचिव हुँदै प्रदेश अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
लेखकले खुद्रा औषधि व्यवसायीहरूको हकहित, अधिकार, व्यावसायिक सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेको बताएका छन्।
उनले ‘सक्षम नेतृत्व, सुदृढ संस्था, सुरक्षित व्यवसाय र सम्मानित व्यवसायी’ भन्ने नारासहित संघको संस्थागत सुदृढीकरण, व्यवसायीका समस्या समाधान तथा खुद्रा व्यवसायीको आवाज केन्द्रीय तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेषगरी खुद्रा औषधि व्यवसायीले भोग्दै आएका व्यावसायिक समस्या, नीतिगत जटिलता र पेशागत सुरक्षाका विषयमा संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
सुर्खेतमा हुने अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नुका साथै औषधि व्यवसायको आगामी दिशा र नीतिगत विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। लेखकको उम्मेदवारीलाई सुदूरपश्चिमबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने प्रयासका रूपमा हेरिएको छ।










Discussion about this post