काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच एलिमिनेटर खेल हुँदैछ। उपाधि यात्रालाई कायम राख्ने लक्ष्यसहित दुवै टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ५ बजे आमनेसामने हुँदैछन्।
लिग चरणमा तेस्रो र चौथो स्थान हासिल गरेका यी दुई टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ। पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। दोस्रो क्वालिफायरमा विजेताले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणको प्रदर्शनका आधारमा काठमाडौं केही बलियो देखिए पनि चितवनलाई कमजोर आँक्न सकिँदैन। काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको थियो। यस्तै, चितवनले तीन जित, तीन हार र एक नतिजाविहीन खेलबाट सात अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको हो।
काठमाडौंको लक्ष्य जितको लय फर्काउने
काठमाडौं गोर्खाजले प्रतियोगिताको सुरुवात जनकपुर बोल्ट्ससँग आठ विकेटको हारबाट गरेको थियो। तर त्यसपछि लगातार चार खेल जित्दै टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो। काठमाडौंले कर्णाली याक्स, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजलाई पराजित गर्दै प्लेअफको यात्रा बलियो बनाएको थियो।
विशेषगरी विराटनगरविरुद्ध नौ विकेट र लुम्बिनीविरुद्ध ३६ रनको जितले टोलीको बलियो पक्ष देखाएको थियो। तर लिग चरणको अन्त्यतिर काठमाडौंको प्रदर्शन खस्कियो। सुदूरपश्चिम रोयल्ससँग सात रन र पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि टोली तेस्रो स्थानमा सीमित भयो।
ब्याटिङतर्फ राशिद खान काठमाडौंका प्रमुख खेलाडीका रूपमा देखिएका छन्। उनले लिग चरणमा १८६ रन बनाएका छन्। त्यस्तै, सुरुवाती चार खेल खेलेका डेविड वार्नरले १२७ रनको योगदान दिएका थिए।
बलिङमा पाकिस्तानी खेलाडी जाहनदाद खानले १२ विकेट लिएका छन् भने सन्तोष यादवले पनि महत्वपूर्ण समयमा विकेट निकाल्दै प्रभाव पारेका छन्। कप्तान करण केसीको नेतृत्वमा रहेको काठमाडौंले आज ब्याटिङ र बलिङ दुवैमा सामूहिक प्रदर्शन गर्नुपर्नेछ।
चितवनको भरोसा बलियो बलिङ
चितवन राइनोजले उतारचढावपूर्ण प्रदर्शनका बाबजुद प्लेअफमा स्थान बनाउन सफल भएको हो। टोलीले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। त्यसपछि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सविरुद्ध जित निकालेको चितवनले सुदूरपश्चिम, काठमाडौं र कर्णालीसँग भने हार बेहोरेको थियो।
चितवनको मुख्य शक्ति बलिङ देखिएको छ। कमलसिंह ऐरी र रिजन ढकालले समान १२ विकेट लिँदै टोलीको बलिङ आक्रमणलाई प्रभावकारी बनाएका छन्। उनीहरूको प्रदर्शन चितवनलाई प्लेअफसम्म पुर्याउन महत्वपूर्ण बनेको छ।
ब्याटिङतर्फ रवि बोपारा र डेविड मलानले राम्रो प्रदर्शन गरेका छन्। बोपाराले १८४ तथा मलानले १४९ रन बनाएका छन्। सिकन्दर राजा र कप्तान कुशल मल्लबाट पनि टोलीले महत्वपूर्ण योगदानको अपेक्षा गरेको छ।
चितवनले आज आफ्नो बलियो बलिङलाई निरन्तरता दिँदै ब्याटिङमा पनि जिम्मेवार प्रदर्शन गर्नुपर्नेछ। विशेषगरी शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन सके टोलीको जित्ने सम्भावना बलियो बन्न सक्छ।
अघिल्लो भेटमा काठमाडौं विजयी
लिग चरणमा यी दुई टोलीबीच भएको प्रतिस्पर्धामा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले आठ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा चितवनले सात विकेट गुमाएर १७० रन मात्र बनाउन सकेको थियो।
उक्त खेलमा राशिद खानले ५२ रन बनाउँदै काठमाडौंको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले आजको खेलमा चितवनसँग अघिल्लो हारको बदला लिने अवसर हुनेछ भने काठमाडौंलाई पुरानो जितको आत्मविश्वास रहनेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब आजको एलिमिनेटरमा जित निकाल्ने टोलीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।
उपाधि यात्रामा अघि बढ्न दुवै टोलीलाई आज जित्नैपर्ने दबाब छ। त्यसैले काठमाडौं र चितवनबीचको एलिमिनेटर प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।










Discussion about this post