काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा प्रदान गर्ने बताएका हुन्।
उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको महत्त्व उजागर गर्दै आएको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले विधिपूर्वक छठ व्रत सम्पन्न गर्दा मनोकामना पूरा हुने, परिवारको कल्याण हुने तथा दुःख–कष्ट हटेर सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको बताएका छन्।
सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश दिने राष्ट्रपति पौडेलको भनाइ छ।
उनले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा–आराधना गर्ने परम्पराले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उल्लेख गरेका छन्। विशेषगरी तराई–मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाइनु खुसीको विषय भएको उनले बताएका छन्।
राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने यात्रामा छठी माता र सूर्य भगवान्को कृपा रहिरहने कामना गरेका छन्।
यसैबीच, तराई–मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी विशेष पूजा गरिँदैछ। यसका लागि नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा आकर्षक छठघाट निर्माण गरी सजाइएको छ।
गएराति खरना विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर निराहार व्रत बसेर साँझ ठेकुवा, भुसवा, मिष्ठान्न, उखु, केरा, नरिवललगायतका प्रसाद तथा पूजासामग्रीसहित घाटमा पुग्ने तयारीमा छन्।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।










Discussion about this post