काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगितामा नेपालले पहिलो पटक रजत पदकसहित एक रजत र तीन कांस्य गरी चार पदक जितेको हो।
रुसको सिरियसमा सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत पदक जितेका छन्। त्यस्तै, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक हात पारेका छन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार रजत पदक विजेता रिवाश राईले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका छन्। अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत जितेको यो पहिलो पटक हो।
यसअघि थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा पनि नेपाली विद्यार्थीले दुई पदक जितेका थिए। उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए।
आलमले जितेको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो।
लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले हासिल गरेको सफलताले खगोलविज्ञान तथा खगोलभौतिकी क्षेत्रमा नेपालको उपस्थिति र सम्भावनालाई थप बलियो बनाएको छ।










Discussion about this post