काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराईका अधिकांश स्थानमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
भोलि र पर्सि भने आजको तुलनामा वर्षाको सम्भावना कम रहनेछ। यद्यपि पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बुधवारदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले किसानलाई भित्र्याउने तयारीमा रहेको धानबाली सुरक्षित राख्न मौसमविद्ले आग्रह गरेका छन्।
यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहे पनि त्यसको नेपालमा खासै प्रभाव नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।










Discussion about this post