काठमाडौं । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा अनुदान दिन आवेदन आह्वान गरेको छ।
मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक विवरण र कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
सरकारले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चलचित्र क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार कार्यक्रम सञ्चालन गर्न लागेको हो।

यस कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति, परम्परा, राष्ट्रिय पहिचान र सामाजिक यथार्थलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्न प्रोत्साहन गरिनेछ। चलचित्रको कथा तथा पटकथा विकासदेखि निर्माण र निर्माणपछिका कामसम्मका विभिन्न चरणमा सहयोग उपलब्ध गराउने सरकारको लक्ष्य छ।
अनुदानका लागि आवेदन दिँदा चलचित्रको नाम, अनुदान माग गरिएको विधा, कथाकार तथा पटकथाकारको नाम, चलचित्रको भाषा र स्क्रिप्ट लेखकको विवरण खुलाउनुपर्नेछ। त्यसैगरी निर्माता, निर्देशक, छायाँकार, निर्माण संस्था तथा साझेदार संस्थाको विवरणसमेत पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदनमा चलचित्रमा रहने कलाकारको नाम र सङ्ख्या खुलाउनुका साथै लेखक, निर्माता, निर्देशक, छायाँकार र मुख्य कलाकारको व्यक्तिगत विवरण पनि समावेश गर्नुपर्नेछ। चलचित्र निर्माणसम्बन्धी कार्ययोजना पनि आवेदनसँगै पेस गर्नुपर्नेछ।
सरकारले यस कार्यक्रमबाट सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतनासँग सम्बन्धित विषयलाई चलचित्रमा समेट्न सहयोग पुग्ने अपेक्षा गरेको छ। अनुदान वितरणको प्रक्रिया, मापदण्ड तथा अन्य सर्त कार्यविधि, २०८३ अनुसार निर्धारण गरिने मन्त्रालयले जनाएको छ।










Discussion about this post