यमनको हुथी समूहबाट हुन सक्ने क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको प्रतिकार गर्न बेलायतले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमान तैनाथ गर्ने निर्णय गरेको छ। बीबीसीका अनुसार साउदी अरबको हवाई क्षेत्र र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा बलियो बनाउन बेलायतले यस्तो कदम चालेको हो।
बेलायती प्रधानमन्त्रीबाट स्वीकृत उक्त रक्षात्मक मिसनले साउदीका प्रमुख सहर, विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई सम्भावित हवाई आक्रमणबाट जोगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। विशेषगरी राजधानी रियाद र तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी आक्रमण हुन सक्ने जोखिमलाई ध्यानमा राखेर बेलायतले सैन्य सहयोग बढाउन लागेको हो।
बेलायती रक्षा मन्त्री वेस स्ट्रिटिङले टाइफून विमानहरूले रक्षात्मक भूमिका मात्रै निर्वाह गर्ने र हुथी समूहविरुद्ध प्रत्यक्ष आक्रामक हमला नगर्ने बताएका छन्।
यमनमा लामो समयदेखि जारी द्वन्द्वमा हुथी समूह र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबीच संघर्ष हुँदै आएको छ। साउदी अरबले यमन सरकारलाई समर्थन गर्दै आएको छ भने हुथी समूहले राजधानी सानासहित देशका विभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ।
पछिल्लो समय यमनमा युद्धविराम कमजोर बनेसँगै साउदी अरबको सुरक्षा चुनौती बढेको बताइएको छ। हुथी समूहले साउदीका विमानस्थल, ऊर्जा केन्द्र र बन्दरगाहजस्ता महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिरहेको समाचारमा उल्लेख छ। यस्ता आक्रमणले क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्तिमा समेत असर पार्ने चिन्ता बढाएको छ।
साउदी अरबलाई थप सुरक्षा सहयोग उपलब्ध गराउने योजनाअन्तर्गत बेलायतले सैन्य सल्लाहकार तथा यातायात विमानसमेत परिचालन गर्ने जनाएको छ। साथै, साउदीको रक्षात्मक अभियानमा सहयोग पुर्याउँदै आएको हावामै इन्धन भर्ने सेवा थप ९० दिनका लागि विस्तार गर्ने निर्णय पनि गरिएको छ।
बेलायतको यो कदमले साउदी अरबको हवाई सुरक्षा क्षमता बढाउनुका साथै मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post