दक्षिणपश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समयअनुसार १०ः३३ बजे भूकम्प गएको हो। भूकम्पको गहिराइ करिब १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै शक्तिशाली महसुस गरिएको भूगर्भविद्हरूले बताएका छन्।
भूकम्पको केन्द्रविन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तरपूर्वमा रहेको नाग्छु क्षेत्रको बाकेन काउन्टीस्थित मरू गाउँपालिका नजिक थियो।
भूकम्पका कारण प्रभावित क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार ३३९ भन्दा बढी घर पूर्ण रूपमा भत्किएका छन्। भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएका छन्।
उच्च हिमाली भूभागमा गएको भूकम्पपछि सुक्खा पहिरो र चट्टान खस्दा सडक मार्गसमेत अवरुद्ध भएका छन्। यसले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ। भूकम्पबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ अधिकारीहरूले दोस्रो स्तरको आपत्कालीन उद्धार प्रणाली लागू गर्दै उद्धार टोली परिचालन गरेका छन्।










Discussion about this post