काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएर अष्टमी दुई दिन परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा अन्य धार्मिक कर्म कात्तिक २ गते पनि दोहोर्याउनुपर्ने जनाएको छ।
समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दशैँघर वा पूजा कोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्नेछ। महाअष्टमीका अन्य धार्मिक कर्मसमेत दोहोर्याउनुपर्ने उनले बताए।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने समितिले स्वीकृत गरेको पात्रोअनुसार कात्तिक १ गते राति गर्नुपर्ने उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बनेको छ। विजयादशमीमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने धार्मिक परम्परा रहनेछ।

यसैबीच, हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार तलेजुका पुजारीको परम्परा र समितिसँगको परामर्शका आधारमा मूल पूजा सोमबार राति गर्ने निर्णय गरिएको हो।
हनुमानढोकामा महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा आराधना गर्ने परम्परा रहिआएको छ।










Discussion about this post