गोरखा — बुढीगण्डकीमा आएको बाढीले उत्तरी गोरखाका दुई गाउँपालिकासहित विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुँदा करिब ५ हजार घरधुरी अन्धकारमा परेका छन्।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलाबाट आएको बाढीले चुमनुब्री–३ जगतमा रहेको लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
बाढीले आयोजनाका १२ वटा पोल, एउटा टावर र विद्युत्का तार बगाएको छ। यसबाट चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीका ९ सय ७१ घरधुरी प्रभावित भएका छन्।
त्यस्तै, धार्चे गाउँपालिकाका सातवटै वडाका करिब ४ हजार घरधुरी विद्युत्विहीन बनेका छन्। आरुघाट गाउँपालिका–५ शान्तिबजारका थप ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ।
विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुनुका साथै चुमनुब्री गाउँपालिकाको प्रशासनिक कामकाजसमेत प्रभावित भएको छ। बाढीले सडक, पदमार्ग र पुलहरूमा क्षति पुर्याउँदा विभिन्न बस्तीबीचको आवागमनसमेत अवरुद्ध बनेको छ।
यसैबीच, बाढीका कारण मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू सुरक्षित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चुम उपत्यकामा रहेका ८७ जना पर्यटक तथा जगतमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
बाढीले पदमार्ग र पुलमा क्षति पुर्याएपछि चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ।










Discussion about this post