काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन्। मतदानका लागि लाइनमा बसेका मतदातामाझ पुगेर उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै १५औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको थियो। तर, निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि थापाको नेतृत्वमा विशेष महाधिवेशन सम्पन्न भएको थियो। पार्टीलाई विधि, विधान र संवैधानिक व्यवस्थाअनुसार अघि बढाउनुपर्ने मुद्दा उठाउँदै आएका थापा त्यसपछि पार्टी नेतृत्वमा पुगेका हुन्।
उनकै नेतृत्वमा कांग्रेस गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको थियो। यसपटक पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधानअनुसार अघि बढाउने प्रयास गरेको उनको पक्षको दाबी छ।
थापाले मत मागिरहँदा मतदाताहरू उत्साही देखिएका थिए। सभापति पदमा उनीसँग काठमाडौं–६ का श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। खड्गी पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमितिमा निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेका हुन्।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थापा यसअघि पार्टीको महामन्त्रीसमेत भइसकेका छन्। पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार बनेका थिए।
जेन–जी आन्दोलनपछि पार्टीको नीति र कार्यशैलीलाई समय तथा समाजअनुकूल परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका थापाले विशेष महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशामा अघि बढाउने प्रयास गरेका छन्।
थापाले मतदातालाई कुनै पनि समूहको प्रभाव वा दबाबमा नपरी स्वविवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्। उनले बिहान सामाजिक सञ्जालमार्फत पनि कुनै समूह नबनेको उल्लेख गर्दै मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्न अपिल गरेका थिए।










Discussion about this post