काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ।
शृङ्खलामा नेपालसहित घरेलु टोली ओमान र क्यानडाको सहभागिता रहनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बिदाइ गर्दै खेलाडीलाई सफलताको शुभकामना दिएको छ।
क्यानका पदाधिकारीहरूले शृङ्खला नेपालका लागि महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका छन्। कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाडीहरू लयमा रहेको बताएका छन्।
ओमान पुगेपछि नेपाली टोलीले नियमित तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले लिग–२ अन्तर्गत क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ।
तालिकाअनुसार नेपालले असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते पुनः क्यानडासँग र कात्तिक २ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ।










Discussion about this post