काठमाडौं । दक्षिण अफ्रिकाका युवा ब्याटर लुआन–ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा क्रिस गेलको लामो समयदेखिको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान तोडेका छन्।
सीएसए टी–२० च्यालेन्जमा टाइटन्सबाट खेलिरहेका २० वर्षीय प्रेटोरियसले नाइट्सविरुद्ध अविजित १८८ रनको शानदार इनिङ्स खेले। उनले ७९ बलमा १५ चौका र १३ छक्का प्रहार गरे।
यससँगै उनले गेलले सन् २०१३ मा बनाएको १७५ रनको कीर्तिमान पछाडि पारे। गेलले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै पुणे वारियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए।
प्रेटोरियसले २४ बलमा अर्धशतक पूरा गरेका थिए भने थप १६ बलमा शतक पूरा गरे। उनले १५० रनको आँकडा ६९ बलमै पार गरेका थिए।
१८८ रन बनाए पनि उनी टी–२० क्रिकेटमा पहिलो दोहोरो शतक बनाउनबाट १२ रनले चुके। उनको आक्रामक ब्याटिङको मद्दतमा टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६७ रन बनायो।
यो सीएसए टी–२० च्यालेन्जको इतिहासमा दोस्रो ठूलो टोली स्कोर हो। यसअघि सन् २०२२ मा टाइटन्सले नाइट्सविरुद्ध ३ विकेट गुमाएर २७१ रन बनाएको थियो।
प्रेटोरियसभन्दा अघि सीएसए टी–२० च्यालेन्जमा सर्वाधिक व्यक्तिगत स्कोर डेवाल्ड ब्रेभिसको नाममा थियो। उनले सन् २०२२ मा नाइट्सविरुद्ध १६२ रन बनाएका थिए।
२०२६–२७ सिजनको पहिलो खेलमै कीर्तिमानी प्रदर्शन गरेका प्रेटोरियसले यसअघि गत सेप्टेम्बरमा जिम्बाब्वे र नामिबियासँग भएको त्रिकोणात्मक सिरिजमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सिरिजका पछिल्ला दुई खेलमा क्रमशः ९४ र १०१ रन बनाएका थिए।











Discussion about this post